काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठकले पार्टी प्रवेश गरेका ४ जनालाई केन्द्रीय सदस्य बनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको हो ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले नेता कार्यकर्तालाई एकअर्काविरुद्ध पार्टी र व्यक्तिका विषयमा केही भन्नु परे आन्तरिक कमिटीमा राख्न र बाहिर जथाभावी कोही कसैको अनावश्यक आलोचना नगर्न पनि भनेको छ । साथै बैठकले विभिन्न जिल्लामा सहइन्चार्जहरू थप्ने निर्णय पनि गरेको छ ।
अध्यक्ष ओली उपचारका लागि लामो समय सिंगापुर बस्नुपर्ने भएपछि पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलोपटक सचिवालय बैठक बसेको हो । पार्टी विधानमा दुई अध्यक्ष रहने व्यवस्था भएपनि यसअघिसम्म अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको नेतृत्व गरिरहेका थिए ।
बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल सचिवालय सदस्यहरू रामबहादुर थापा र ईश्वर पोखरेललगायत सहभागी थिए।