राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावलले विश्वसँगै नेपालसमेत कोरोना भाइरस (कोभिड–१९)सँग सामना गरिरकेको विषम परिस्थितिमा कैलाली जिल्लाको शहीद माविको क्वारिन्टनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरिन् ।
उनले भनिन्, ‘महिला सङ्क्रमितको सङ्ख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टिनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु ।’
त्यस्तै नेपाली काँग्रेसका प्रकाश पन्थले देशैभरी क्वारेन्टिनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टिनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय छ, दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।