पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ ।
पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो ।
गत शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मङ्गलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले फेला पारेका हुन् ।
पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको सङ्गम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।
बालकको खोजीका लागि आज बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्लुङ गाउँ कमिटीको अगुवाइमा शव खोजी गर्दा घरभन्दा तल चौतारी नजिक शव भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिए ।