logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशबाट ल्याइएका शवहरु वैदेशिक रोजगार बोर्डले निःशुल्क रुपमा घरसम्म लगिदिने


अंकुरण खबर
1.183K
Shares

विदेशबाट ल्याइएका शवहरु वैदेशिक रोजगार बोर्डले निःशुल्क रुपमा घरसम्म लगिदिने व्यवस्था गरेको छ।

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीन बन्धु सुवेदीका अनुसार शुक्रबार आएका २४ वटा शव मध्ये सात वटा शव काठमाडौंमै आफन्तलाई जिम्मा दिने तथा बाँकी शव घरसम्मै पुर्याउने व्यवस्था गरिएको छ।

‘लकडाउनले गर्दा जिल्लाबाट शव बुझ्न काठमाडौं आउन असम्भव भएकाले बोर्डको तर्फबाट शव बाहनका चालकले नै शव बुझेर परिवारले भनेको ठाउँसम्म पुर्याइदिने व्यवस्था गरिएको छ,’ सुवेदीले भने,‘सम्बन्धित ठाउँमा पुगेपछि स्थानीय जनप्रतिनिधि तथा प्रहरीको रोहबरमा चालक शव आफन्तलाई बुझाएर फर्किन्छन्।’

बोर्डका अनुसार लकडाउनले गर्दा विदेशमा रहेका सबै २८३ वटा शव समयमै नेपाल ल्याउन सकिएको छैन। जसमध्ये साउदीमा मृत्यु भएका मध्ये मुस्लिम समुदायका करिव एक सय शव उतै जलाउने सहमति बोर्डलाई प्राप्त भएको सुवेदीले जानकारी दिए।

बाँकी शव ल्याउने प्रयास भैरहेको उनले बताए। वैदेशिक रोजगारीमा गएका कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको बोर्डले जनाएको छ। कोरोनाका कारणले मृत्यु हुनेको शव भने सम्बन्धित देशमै व्यवस्थापन गरिन्छ।