logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

रवि लामिछाने सहित तीनै जना धरौटीमा रिहा


अंकुरण खबर
1.417K
Shares

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख , युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

अब धरौटी बुझाएपछि तीनै जना थुनामुक्त हुनेछन् । त्यस पछि अब उनीहरुले हिरासत बाहिरै रहेर थप कानूनी प्रक्रियाको सामना गर्नेछन् । लामिछानेसहित ३ अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै पटाक्षेप हुनेछ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।