सिन्धुपाल्चोकमा बाढीले पुर्याएको क्षतिको अवलोकन र उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ ।
मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो ।
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौं ल्याउने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।
बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता छन् । तीन जनाको उद्धार गरिएको छ ।