सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ जम्बुमा याल्मो खोलामा आएको बाढीमा परेर घाइते भएका दुईको उद्धार भएको छ ।
कैलाश हेलिकप्टरबाट १९ वर्षीय सुवेश तामाङ र २० वर्षीय सबीता तामाङको उद्धार गरेर काठमाडौं पठाइएको छ । उक्त हेलिकप्टर लिएर नेकपा केन्द्रीय सदस्य माधव सापकोटा लगायतको टोली सिन्धुपाल्चोक आएको थियो ।
अन्य तीनजना घाइतेको भने स्वास्थ्य अवस्था सामान्य रहेको छ । सबीताका श्रीमान र बच्चाको भने मृत्यु भइसकेको छ ।
यसैबीच बाढी र पहिरोमा परी बेपत्ता भएका सबैको पहिचान खुलेको छ । बेपत्ता हुनेमा जम्बुका १४ जना र भोटेकोशी गाउँपालिकाका ४ जनाको पहिचान खुलेको हो ।
भोटेकोशी गाउँपालिकाका बेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मन्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र ९ का पासाङ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
बाह्रबिसे नगरपालिकाका बेपत्ता हुनेहरुमा भिमबहादुर वाईवा, चिनीमायाँ वाईवा, लिलामायाँ वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमायाँ वाईवा, जनक बहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ रहेको डीएसपी काफ्लेले बताए । उनीहरुको खोजी कार्य भइरहेको छ ।