रुकुम पश्चिममा पहिरोले घर पुरिंदा एकै परिवारका २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुरिंदा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा ६ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
पहिराले घर पुरिँदा ८ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । तुलबहादुर भने कामको सिलसिलामा नगरपालिकामै पर्ने गोतामकोट गएको प्रहरीको भनाइ छ ।
स्थानीयले घर पहिरोले पुरेको जानकारी दिएपछि अस्थायी प्रहरी पोष्ट स्यालाखदीबाट प्रहरी सहायक निरीक्षक जयराम रावलको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयसमेतको सहयोगमा एक जनालाई जीवितै उद्धार गरेको र अन्य दुई जनाको शव निकालेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
केसीका अनुसार घाईतेको स्थानीय मेडिकलमा उपचार भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।