logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

पहिरोमा स्काभेटर पुरियो, दुई चालक बेपत्ता


अंकुरण खबर
1.326K
Shares

बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ ।

गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए  ।

ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध १ च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । “पहिले पनि पहिरा खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरा खसेको पाइएको छ”, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरा गएको केही बेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए ।

अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ । रासस