पोखरीमा डुबेर सर्लाहीको ईश्वरपुरमा दुई बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका दुई बालिकको शव पोखरीमा भेटिएको हो । स्थानीय रामपृत महतोकी १३ वर्षीया छोरी अन्जलीकुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरती महतोको पोखरीमा डुबेर मृत्यु भएको केशरगञ्ज इलाका प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरु शनिबार दिउसो बाख्रा चराउन गएका थिए । अबेर साँझसम्म नआएपछि खोजी सुरु भएको थियो । खोज्ने क्रममा राति ९ः३० बजेतिर बालिकाहरुको शव पोखरीमा भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले पोखरी बनाएका थिए । उनले आफ्नै जग्गामा पोखरी बनाएको भएपनि सुरक्षाका उपाय अपनाएका थिएनन् । खुल्ला छोडेकाले बालबालिकाको मृत्यु भएको स्थानीय वासिन्दाको भनाइ छ ।