मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।
इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगले शुक्रबार विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेको छ ।
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए। “अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो”, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने ।
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूवर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द रहेको छ । जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । मक्का मदिना जान नपाएका हजयात्रीले समेत घर घरमै बकर इद मनाउने छन् । मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पनि भौतिक दूरी कायम गरेर बकर इद मनाउने गरिन्छ । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।