logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा चल्ने सवारीमा जोरबिजोर प्रणाली लागु गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव


अंकुरण खबर
897
Shares

काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्न प्रस्ताव गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागू गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)समक्ष प्रस्ताव गरेको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार अहिले उक्त प्रस्ताव सिसिएमसीमा विचाराधिन छ । उक्त प्रस्तवबारे सिसिएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेपछि मात्रै औपचारिकता पाउने ती अधिकारीको भनाइ छ ।

पछिल्लो एकसाता यता उपत्यकामा कोरोना संक्रमित थपिँदै गएका छन् । लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट उपत्यका प्रवेश गर्नेको संख्या बढेको छ । जसका कारण जोखिम बढेको हो ।

सरकारले २६ असारबाट निजी सवारी साधानमा लगाएको जोरबिजोर प्रणाली हटाएको थियो। मन्त्रालयका ती अधिकारीले पहिलो चरणमा जोरबिजोर प्रणाली लागू गर्न र त्यसपछि पनि जोखिम कायमै रहे अन्य उपाय अबलम्बन गर्नुपर्ने बताए।

उनले उपत्यका भन्दा बाहिरबाट आउनेलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा राख्नुपर्ने बताए । सोही अनुरुप १४ दिन क्वारेन्टाइनमा बस्ने गरी मात्रै उपत्यका प्रवेश गर्न दिने व्यवस्था गर्न प्रस्ताव समेत गरेको छ ।

सीसीएमसीले समेत मन्त्रालयको प्रस्ताव लागू गर्न सकारात्मक रहेको संकेत गरेको छ ।