स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटै परिवारका सदस्ययहरु मात्रै बसी चाडबाड तथा पर्वहरु मनाउन आग्रह गरेको छ ।
मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड- २०७७ जारी गर्दै कोरोना संक्रमणको जोखिम कम गर्न सुरक्षित रुपमा चाडपर्व मनाउन अपिल गरेको हो ।
तीज, दशै, तिहार जस्ता चाँडबाड नजिकिएको भन्दै मन्त्रालयले एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्न आग्रह गरेको छ । सम्भव भएसम्म एक घरका परिवारका सदस्ययहरु मात्रै बसी चाडबाड तथा पर्वहरु मनाउन भनिएको छ ।
चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने र चाडपर्व ,जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने भनिएको छ ।
त्यसैगरी धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने समाग्रीहरु नछुन मापदण्डमा भनिएको छ ।
मन्त्रालयले साथै सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा प्याकेजमा स्वस्थ्य व्यक्तिले पञ्जा लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र प्रसाद वा अन्य फलफूलहरु निश्चित व्यक्तिहरुले घरमै गएर बाँड्न मिल्ने व्यवस्था मिलाउनुपर्ने मापदण्डमा उल्लेख गरेको छ ।