भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतका महान व्यक्ति भन्दै दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी पुरातात्विक प्रमाणका आधारमा बुद्धको जन्मभूमि नेपाल रहेकाले दिग्भ्रमित नहुन अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ।
भारतीय विदेशमन्त्री जयशंकरले भगवान बुद्धलाई महान् भारतीय भनेपछि नेपालमा उनको अभिव्यक्तिको विरोध भइरहेको छ।
‘ऐतिहासिक तथा पुरातात्विक तथ्यले बुद्ध नेपालमा जन्मिएको पुष्टि भइसकेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यही तथ्यका आधारमा लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा नेपाल भ्रमणमा आएको बेला नेपाल बुद्धको जन्मथलो भएको भन्दै संसदमा बोलेको कुरालाई पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
परराष्ट्र मन्त्रालयले बुद्धको ज्ञान नेपालबाट संसारमा छरिएको र जन्मभूमिको विषय विवादित नभएको जनाएको छ।
