logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थप ४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८३ पुग्यो


अंकुरण खबर
650
Shares

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सहित नेपालमा हालसम्म ८३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा ८३ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ८ वस्ने वर्ष ६० का एक पुरुषको साउन २६ गते राती १० बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो । गत साउन ८ गते निमोनिया भई अस्पतालको आइसियुमा भर्ना भई उपचार गराइरहेको उनी क्षयरोगीका बिरामी समेत थिए।

धनुषा जिल्ला मिथिला विहारी नगरपालिका वडा नं. ५ निवासी विनयतारा फाउण्डेशन (क्यान्सर अस्पताल) जनकपुरमा काम गर्ने ५० वर्षका एक पुरुषको साउन २५ गते  निधन भएको हो । उनको मृत्यु पश्चात साउन २५ गते स्वाब नमुना संकलन गरी परिक्षण गर्दा साउन २६ गते कोरोना पुष्टी भएको थियो । झाडापखाला लागी मोटरसाइकलमा अस्पताल आउंदै गर्दा बाटोमा बेहोश भई लडेको र उनलाई अस्पताल पुऱ्याउंदा अस्पतालमा मृत घोषित गरिएको थियो।

काभ्रे जिल्ला पाँचखाल नगरपालिका-१ निवासी ५० वर्षीय एक महिलाको साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हो । साउन २५ गते निमोनियाको लक्षण लिई अस्पताल भर्ना भएकी उनको सोही दिन स्वाब नमुना संकलन गरि परिक्षण गर्दा साउन २७ गते कोरोना पुष्टी भएको हो । उनी फोक्सो तथा पित्तथैली सम्बन्धि रोगवाट समेत  ग्रसीत थिइन्।

यस्तै, सिन्धुपाल्चोक जिल्ला बाह्वबिसे नगरपालिका वडा नं. ४ निवासी वर्ष ८४ का एक पुरुषको साउन २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल, महाराजगंजमा निधन भएको हो । मुटु तथा मृगौला सम्बन्धि समस्या लिई साउन २१ गते अस्पताल भर्ना भएको उनको साउन २७ गते कोरोना पुष्टी भएको थियो ।