logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभापति देउवाले ओली-प्रचण्डलाई भेटेर गराए यी तीन विषयमा गम्भिर ध्यानाकर्षण


अंकुरण खबर
1.131K
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बालुवाटारमा भेट गरेका छन् ।

छलफलमा कतिपय संवैधानिक नियुक्तिबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेका थिए । भेटमा सभापति देउवाले जरुरी महत्त्वका तीन विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

सभापति देउवाले बाढी पहिरो, कोरोना महामारी र त्रिभुवन विश्वविद्यालयमा देखिएको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।

यस्तो छ सभापति देउवाको ध्यानाकर्षण:

१. सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कैयौँ बेपत्ता छन् । गाउँवासीले दश दिनअघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?

देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भूमिका सन्तोषजनक देखिएन । व्यवस्थित र प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गर्दछु ।

२. कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या सय नाघेको छ, सङ्क्रमण तीव्र गतिमा विस्तार भएको छ । बढ्दो चुनौती सामना गर्न सक्ने ढङ्गले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेशन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाइ ?

३. त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसङ्गतिमाथि कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ । निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पूर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको सभापतिलगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागको सुनुवाइ नगर्ने, कीर्तिपुरदेखि ठाकुरराम क्याम्पससम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनसनमा बसेका नेविसङ्घका विद्यार्थीहरुसँग संवादसमेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न र ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु ।

सभापति देउवाले यी सबै विषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न पनि प्रधानमन्त्री समक्ष आग्रह र नेपाली कांग्रेसको तर्फबाट माग गरेका छन् ।