Gaura Parva
सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रतिकूल अवस्थामा गौरालगायतका चाडपर्व सुरक्षित रूपमा मनाउन आग्रह गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले जीवनरक्षाका निम्ति सचेत भएर परम्परालाई निरन्तरता दिन आग्रह गरेका हुन् ।
‘सजग हुँदै विशेषज्ञ र चिकित्सकहरुको सल्लाह एवं सरकारको निर्देशन अनुसार सामाजिक व्यवहार गरेर सर्वोपरी रुपमा महामारीबाट जोगिन सबैमा आग्रह गर्न चाहन्छु’, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकताका प्रतीक रहँदै आएको उनको भनाइ छ ।
‘गौरा पर्व हाम्रो देशको सुदूरपश्चिम प्रदेशको विशिष्ट सांस्कृतिक पर्व हो । प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको छ’, प्रधानमन्त्रीले भनेका छन् ।
महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजा गर्ने हाम्रो संस्कृतिमा ठाउँअनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व भएको प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।