logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट दोस्रो चरणको निषेधाज्ञा, थप कडाई गरिदैं


अंकुरण खबर
1.079K
Shares

आजबाट काठमाडौं उपत्यकाभित्र दोस्रो चरणको निषेधाज्ञा सुरु भएको छ ।

पहिलो पटकको निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिएको थियो। बुधवार बिहान उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो।

दोस्रो चरणको निषेधाज्ञा थप कडाइका साथ कार्यान्वयन गराउने जिल्ला प्रशासन कार्यालयलका प्रमुखहरुले जानकारी दिएका छन्। पहिलो पटक निषेधाज्ञाको समयमा बैंकका कर्मचारीलाई के गर्ने भन्ने विषयमा पनि सुरक्षा निकाय र प्रशासन स्पष्ट थिएन।

त्यसैले पहिलो दिन सडकमा खटिएका प्रहरीले बैंकका कर्मचारीलाई रोकेपछि बैंकर एसोशियसनले उपत्यकाभित्रका बैंक बन्द गर्ने निर्णय समेत गरेको थियो। पछि समन्वय भएपछि कर्मचारीलाई निर्वाध हिँड्डुल गर्न दिने सहमति भयो।

प्रशासनले काठमाडौंमा निषेधाज्ञा जारी गरी मानिसको आगमनलाई निषेध गरे पनि काठमाडौं उपत्यकाभित्र कोभिड १९ को संक्रमणदर भने बढ्दै गएको छ।

निषेधाज्ञापछि मात्रै बुधवारसम्म १ हजार ६ सय ७९ जना संक्रमित उपत्यकामा थपिएका छन्। हालसम्म उपत्यकामा ४ हजार ७९ जना संक्रमित छन्। निषेधाज्ञा अघिसम्म २३ सय ४० जना मात्रै उपत्यकामा संक्रमित थिए।

विभिन्न स्वास्थ्य विज्ञ तथा स्वास्थ्य मन्त्रालयको सल्लाह सुझावमा नै निषेधाज्ञा जारी गरेर संक्रमण कन्ट्रोल गर्न मद्धत मिल्ने भन्दै समयावधी थप गरेको प्रमुख जिल्ला अधिकारीहरुको भनाइ छ। त्यसैले निषेधाज्ञालाई कडाइका साथ पालन तथा कार्यान्वय गराउन प्रशासन लागि परेको छ।