logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि सकिदैँ, नयाँ मोडालिटीबारे छलफल सुरु


अंकुरण खबर
1.105K
Shares

काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको मोडालिटीबारे छलफल सुरु भएको छ ।

एक साताका लागि थप गरिएको निषेधाज्ञाको अवधि पूरा हुन थालेसँगै नयाँ मोडालिटीबारे छलफल सुरु भएको हो । गत भदौ २ गते बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

पछि गत मंगलबार तीन जिल्लाका सीडीयो, स्थानीय तह, उद्योग वाणिज्यका पदाधिकारी, स्वास्थ्यकर्मी लगायतको सर्वपक्षीय बैठकले निषेधाज्ञालाई बढाउँदै जानु पर्ने सुझाव दिएको थियो ।

सोही सुझाव अनुसार एक साताका लागि निषेधाज्ञा पुनः थप गर्ने निर्णय गरियो । जस अनुसार भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको छ ।

भदौ १७ गतेसम्म थप गरिएको निषेधाज्ञाको अवधि पनि पूरा हुन लागेको छ । १७ गतेपछि उपत्यकामा निषेधाज्ञा हुन्छ कि हुँदैन भन्ने धेरैको चासोको विषय बनेको छ । तर अहिलेसम्म निषेधाज्ञाको मोडालिटीबारे कुनै औपचारिक निर्णय भने भइसकेको छैन ।

आगामी दिनमा निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनका अनुसार उपत्यकामा अब निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्नेबारे छलफल हुँदैछ । भोलिसम्म निषेधाज्ञाको नयाँ मोडालिटी टुंगो लाग्नेछ ।