जिल्ला प्रशासन कार्यालयले मकवानपुरका ४ स्थानीय तहमा लगाएको निषेधाज्ञा मंगलबारबाट हटाउने भएको छ । बजार क्षेत्र बन्द गर्ने स्वरुप पनि परिवर्तन गरिने भएको हो ।
हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका राजमार्ग क्षेत्रमा साउन २६ गतेदेखि जारी निषेधाज्ञा हटाइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । उनका अनुसार कमाण्ड पोष्ट बैठकले निषेधाज्ञा हटाएर दिउँसो बजार र यातायात भने बन्द राख्ने निर्णय भएको छ ।
यही निर्णयपछि थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा लगाइएको निषधाज्ञा पनि हटाइने छ । निषधाज्ञा हटेसँगै हालको स्वरुपलाई केही सहज बनाइने छ ।
विहान १० बजेसम्म सबै प्रकारका व्यबसाय सञ्चालन गर्न दिइने र यातायात भने बन्द गरिने भएको छ । दिउँसो केही घण्टा बैंक तथा कार्यालय खुल्न सहज बनाइएको छ । बैठकले निषेधाज्ञा हटाउने निर्णय गरे पनि बजार सञ्चालन भने विहान १० बजेसम्म गर्न दिने निर्णय गरेको छ । उक्त निर्णय भदौ २५ सम्म लागु हुनेछ ।
विहान बजार सञ्चालन भए पनि सवारीसाधन भने रोक लगाइने छ । १० बजेबाट ट्रिपर सञ्चालन गर्न पाइने छ भने लोड सवारी साँझ सात बजेपछि मात्र सञ्चालन हुनेछन् । उद्योगको हकमा भने मजदुरलाई क्वारेन्टाइन व्यबस्थापन गरेर सञ्चालनमा आउनेछन् । सार्वजनिक यातायात भने सञ्चालनमा पूर्ण रोक लगाइनेछ ।
बैठकले सर्वसाधारणका लागि खाद्यान्न, इन्धन, तरकारी, दुग्धजन्य र औषधिजन्यलगायत अतिआबश्यक बस्तु खरिद गर्न विहान ५ बजेदेखि १० बजेसम्म पसल व्यबसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।