काठमाडौं उपत्यकामा फेरि १ हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।
तीन वटै जिल्लाका सिडिओहरुको संयुक्त बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
अहिलेसम्मको नतिजा हेर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्ने निर्णय गरेको उनले बताए । बस्नेतका अनुसार यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने छ।
निषेधाज्ञा थप्नुअघि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँग छलफल गरेका थिए ।
उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पुर्याइएको थियो ।