काठमाडौं उपत्यकामा आज बिहानै निषेधाज्ञा उल्लङ्घन गर्ने १ सय ९६ गाडी होल्ड भएका छन् ।
१ सय ५३ दुई पाङ्ग्रे र ४३ चारपाङ्ग्रे गाडी होल्ड भएका हुन् । हिजोमात्रै काठमाडौं उपत्यकामा ६ सय ३० गाडीलाई होल्ड गरेर छोडिएको थियो । पछिल्लो समय निषेधाज्ञा उल्लङ्घन गर्ने क्रम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएका बाहेक गाडी चलाउन रोकिएको भए पनि अटेरी गर्ने बढेका हुन् । कोरोना सङ्क्रमण बढेसँगै सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा २४ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।
निषेधाज्ञा नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
निषेधाज्ञाका बेला काठमाडौं उपत्यकामा झण्डै १५ सय ट्राफिक प्रहरी परिचालन गरिएको पनि महाशाखाले जनाएको छ ।