पहिरोले घर पुरिँदा रुपा गाउँपालिकामा आज एक किशोरीको मृत्यु भएको छ ।
रुपा गाउँपालिका-६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४:२५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
घरभन्दा अन्दाजी ५० मिटर माथिबाट आएको पहिराले घर पुरेको थियो । परिवारका अन्य सदस्य भने भाग्न सफल भएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइँदै छ ।
पहिराले स्थानीय हरिराम विक, चूडामणि सुनार र माया विकको घर जोखिममा रहेकाले उनीहरुलाई अन्यत्र व्यवस्थापनको तयारी गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।