बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
संक्रमणका कारण मंगलबार कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो ।
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. १२ निवासी ४२ वर्षीय पुरूषको मंगलबार बिहान ९ : २० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
पेशाले टिपर चालक रहेका ति व्यक्ति साउन २७ गते टिपर दुर्घटनामा घाइते भएका थिए । त्यसपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएको थियो ।
भदौ ४ गते कोरोना स्वाब संकलन गरिएकोमा रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। त्यसपछि युनिभर्सल मेडिकल कलेज भैरहवाले भीम अस्पताल भैरहवामा रिफर गरेपछि भदौ ५ गतेदेखि ९ गतेसम्म उपचार भएको थियो ।
त्यहाँ केही सुधार भएपछि भदौ ११ गते बिहान भीम अस्पतालले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा थप उपचारका लागि रिफर गरेको श्रेष्ठले जानकारी दिए ।
बिरामीको अवस्थामा सुधार नआएपछि त्यही उपचारका क्रममा उनको मंगलबार बिहान मृत्यु भएको हो ।