logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने


अंकुरण खबर
2.002K
Shares

बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ ।

खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो। अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पु¥याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ।

गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो। खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो। सोही आधारमा त्रुटि सच्चाउन लागिएको हो।

मानवीय क्षतिसमेत हुने गरी भएको सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता र निर्माण व्यवसायीको रहेको छ। इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो। आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो।

नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो। समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ। भारतीय कम्पनी पिआइएल निर्माणस्थल आएर हेरेर गइसकेको छ ।

कम्पनीसँग नयाँ गेट बनाउने गरी आयोजनासँग सहमति भएको थियो । कम्पनीले फ्रेम बनाएर ल्याएपछि पनि त्यसको जडान गर्न समय लाग्ने बताएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए। उनका अनुसार झण्डै २८ दिन फ्रेम त्यहाँ जोडिनका लागि समय लाग्नेछ। उनले भने, ‘यसैका आधारमा पनि कात्तिक मङ्सिरभन्दा पहिले पानी परीक्षण गर्न नसकिने देखिएको छ।’ सो गेटभित्रबाट खोल्ने गरी जडान गर्ने डिजाइन भए पनि बाहिरबाट खोल्ने गरी जडान भएको पाइएको थियो।

अब गेट त्यही रहने र फ्रेम मात्रै भत्काएर नयाँ जडान गरिनेछ। फ्रेम जडानका लागि सुरुङभित्र आवश्यक पर्ने संरचना निर्माणको कामसमेत अघि बढाइने भएको छ। सो फ्रेम र गेटको अध्ययनका लागि परामर्शदता कम्पनीले थप विज्ञ ल्याउने तयारी गरेपनि धेरै जिल्लामा जारी भएको निषेधाज्ञाका कारण उनीहरु आउन सकिरहेका छैनन्। सुरुङमा गेटको फ्रेम परिवर्तन गरिने समयसम्ममा सुरुङमा पनि भेटिएका त्रुटि सच्चाउने काम अघि बढ्ने प्रवक्ता शाक्यले जानकारी दिए। परामर्शदाता कम्पनी र निर्माण कम्पनीकै त्रुटिका कारण सो दुर्घटना भएकाले त्यसको क्षति पनि सम्बन्धित कम्पनीले नै बेहोर्ने मनत्रालयले जनाएको छ।

यसको जडानका लागि आयोजनाले रकम बेहोर्न नपर्ने बताइएको छ। त्यस्तै, सुरुङमा हाल निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो कम्पनीले पनि बिज्ञ ल्याउन खोजे पनि अहिलेको अवस्थाका कारण ल्याउन नसकेको उनले बताए ।

गत चैतमा बन्दाबन्दीको समयदेखि नै निर्माणको काम गरिरहेको छ। कोभिड–१९ का त्रासका कारण कतिपय कामदार फर्किए पनि सो कम्पनीले उपलब्ध जनशक्तिबाट काम अघि बढाइरहेको थियो। बन्दाबन्दीको समयमा स्थानीय तहको अवरोध र निर्माण सामग्रीको अभावलगायतका समस्या भएकाले निर्माणमा केही बाधा पुगेको थियो। यी सबै समस्याबीच पनि निर्माण कम्पनीले निर्माणस्थलमा काम रोकेको छैन।