गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहीबार ४९ जना कोरोना संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी कास्कीमा १९ र स्याङ्जामा १२ जना थपिएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशभरि कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा ९, तनहुँमा ३, पूर्वी नवलपरासीमा ५ र पर्वतमा १ संक्रमित थपिएका हुन् ।
निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार बिहीबार संक्रमित भएकामा पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत एक स्टाफ नर्स पनि छन् ।
यस्तै सोही अस्पतालमा उपचाररत एक पुरुष बिरामी, पोखरा र पर्वतमा एक-एक जना नेपाल प्रहरीमा कार्यरत छन् । साथै फेवासिटी अस्पतालमा उपचाररत एक महिला बिरामीमा पनि कोरोना पुष्टि भएको छ ।
अन्य भने विदेशबाट आएर क्वारेन्टाइनमा बस्नेहरु रहेको शर्माले बताए । संक्रमितलाई आइसोलेशन केन्द्रमा लैजान थालिएको छ ।