स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै गएको बताएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी एसिया) ७३ औं बैठकलाई सम्बोधनका क्रममा उनले बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड-१९ को बढी प्रभाव परेको भन्दै त्यस्ता क्षेत्रमा पीसीआर परीक्षण, आइसोलेशन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता बढाएको बताए ।
मन्त्री ढकालले भूकम्प र त्यस पछिका धेरै स–साना स्वास्थ्य आपत्कालीन अवस्थाको प्रतिकार्यका सिकाइ गर्दा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रहरूको स्थापना, आपतकालीन औषधि विकास समूह इमर्जेन्सी मेडिकल डेभलपमेण्ट टिम, हब अस्पताल सञ्जालको विस्तार कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि तयारी र प्रतिकार्यको क्षमता अभिवृद्धिमा मद्दत पुगेको पनि दाबी गरे ।