logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

काठमाडौंको एक घरमा पुरुषको शव फेला, एक महिला पक्राउ


अंकुरण खबर
2.314K
Shares

नयाँपाटीस्थित घरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

खोटाङ घर भएर आरुबारीमा डेरा गरी बस्दै आएका ४१ वर्षीय पासङ शेर्पा मृत अवस्थामा फेला परेका हुन् । उनी ट्रेकिङ गाइडका रुपमा काम गर्दै आएका थिए ।

प्रहरीले घटनाको अनुसन्धानको लागि एक महिलालाई समेत नियन्त्रणमा लिएको छ । उनी तिनै महिलाको कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

राति मदिरा सेवन गरेपछि अचेत भएर उनको मृत्यु भएको महिलाले प्रहरीमा प्रारम्भीक बयान दिएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नविन कार्कीले जानकारी दिए । ‘अहिलेसम्म केही खुलेको छैन। राति मापसे गरेको देखिन्छ,’ डीएसपी कार्कीले भने ।

मृतकको शरीरमा कुनै प्रकारको चोटपटक भने देखिएको छैन। उनी बेला बेलामा महिलाको कोठामा जाने गरेको खुलेको छ। शनिवार पनि उनी महिलाको कोठामा गएका थिए। राति नै महिलाले ट्याक्सी बोलाएर अस्पताल लैजान खोज्दा प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी पुग्दा शेर्पाको मृत्यु भइसकेको थियो । त्यहीँबाट प्रहरीले महिलालाई नियन्त्रणमा लिएको थियो ।

शवलाई अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ।