logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको दोस्रो चरणको अभियान मंगलबारदेखि


अंकुरण खबर
1.339K
Shares

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंगलबारदेखि राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम सुरु गर्दैछ । कांग्रेसले दोस्रो चरणको अभियान बीपी कोइरालाको जन्मजयन्ती पारेर सुरु गर्न लागेको हो ।

जागरण अभियानमा कांग्रेसले पहिलो चरणमा जस्तै यस पटक पनि पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायतका मुद्दालाई नै उठाउने भएको छ । पहिलो चरणको जागरण अभियान एक महिना चलेको भए पनि दोस्रो चरणको अभियान भने कांग्रेसले १५ दिनमा सक्दैछ । मंगलबारदेखि सुरु हुने अभियान असोज ७ गते सम्पन्न हुने पार्टीले जनाएको छ ।

पहिलो चरणको अभियान जिल्ला केन्द्रित गरेको कांग्रेसले यस पटक भने हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा जान लागेको हो । पहिलो चरणमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर कार्यक्रम गरेको थियो भने यस पटक जिल्ला भन्दा अझै तल पुगेर ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित अभियान चलाउन लागेको हो ।

यस्तै, मंगलबारदेखि सुरु हुने अभियानमा केन्द्रबाट खटेर जाने प्रतिनिधिले बढी नबोल्ने रणनीति तय गरेको छ । हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने अभियानका क्रममा त्यहाँका नेता कार्यकर्तासँग अन्तरक्रिया गरेर उनीहरुका कुराहरु बढी सुन्ने र केन्द्रीय प्रतिनिधि कम बोल्ने छन् । यस्तो गर्दा स्थानीय नेता कार्यकर्तासँगको सम्बन्ध प्रगाढ हुने र पार्टी सुदृढ गर्न कार्यकर्ता स्तरबाट आएका सुझाव सहयोगि हुने कांग्रेसले विश्वास लिएको छ ।