logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली र प्रचण्डबीच बालुवाटारमा छलफल


अंकुरण खबर
1.04K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा बालुवाटारमा छलफल चलिरहेको छ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुवै अध्यक्षबीच निरन्तर छलफल चल्दै आएको छ । गत बिहीबार, शुक्रबार र आईतबार गरी तीन दिन यही विषयमा छलफल भईसकेको छ । सोमबार पनि सोही विषयमा दुई अध्यक्षबीच छलफल सुरु भएको हो।

आईतबार दुई अध्यक्षबीच पुनर्गठनका विषयमा छलफल चले पनि सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ । मन्त्री कसलाई बनाउनेभन्दा पनि कुन–कुन मन्त्रीलाई हटाउने विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा पुनर्गठनबारे सहमति हुन नसकेको हो।

प्रधानमन्त्री ओली श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्तिबहादुर बस्नेत, स्वास्थ्यमन्त्री भानभक्त ढकाल र खेलकुदमन्त्री जगत विश्वकर्मा हटाउनु पर्ने पक्षमा छन्।

तर, प्रचण्डले रक्षामन्त्री इश्वर पोखरेल, उद्योग मन्त्री लेखराज भट्ट, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, श्रममन्त्री रामेश्वर राय यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा र भूमिमन्त्री पद्मा अर्याललाई हटाउनुपर्ने मत राखेका छन् । सोहीकारण मन्त्रिपरिषद पुनर्गठन हुन नसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

दुई अध्यक्षबीच ऊर्जा र उद्योग मन्त्रालय फुटाएर १० देखि १२ नयाँ मन्त्रीलाई जिम्मेवारी दिने विषयमा सहमति हुने आँकलन गरिएको छ ।