काठमाडौं – लोक सेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको ८४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी भएका राईको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । संखुवासभाको पामा गाउँमा विक्रम संवत १९९३ सालमा जन्मेका राईले दार्जीलिङ तथा अमेरिकाको मिचिगन विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका थिए । उनले २०१८ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए ।
सन्तबहादुर राईको प्रशासनिक यात्रा र भोगाइका बारेमा सन्तबहादुर राई प्रतिष्ठानले ‘सन्तबहादुर राई इतिवृत’ पुस्तक प्रकाशन गरेको छ । राईकी श्रीमती ललिता राईको २०६८ सालमा निधन भैसकेको छ । उनका दुई छोरी अमेरिकामा बस्दै आएका छन् ।