काठमाडौं – नेपाल र चीनबिचको उच्चस्तरीय वार्ता सुरु भएको छ । वार्ता काठमाडौंस्थित होटल याक एण्ड यतीमा सुरु भएको हो । वार्तामा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुरमार ज्ञवालीले गरेका छन् । टोलीमा अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी छन् ।
चीनका लागि नेपाली राजदूत लीलामणि पोखरेल, परराष्ट्र सचिव शंखरदास वैरागी, परराष्ट्र मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायतको सहभागीता रहेको छ । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री वाङ यीले गरेका छन् ।
नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयमा गहन छलफल हुनेछ । दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौता तथा नेपालको व्यापार विविधीकरण, व्यापारघाटा घटाउन चिनियाँ सहयोग लगायत विषयमा पनि छलफल हुनेछ ।
वार्तापछि मनाङमा चिनियाँ सहयोगमा अस्पताल निर्माण, भूकम्प पीडितलाई पाँच हजार थान पाल उपलब्ध गराउने र चिनियाँ स्वयम्सेवकहरूले नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउने सम्बन्धी तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
आइतबार काठमाडौं आइपुगेका वाङ यी सोमबार चन्द्रागिरिबाट हाइकिङ गर्दै मातातीर्थसम्म पुगेर फर्किएका थिए ।