logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाँतलाई सधै स्वस्थ र सुन्दर राख्न विशेषज्ञका यस्ता छन् सुझाव…


अंकुरण खबर
5.98K
Shares

स्वस्थ र सुन्दर दाँतले सौन्दर्य मात्र बढाउँदैन आकर्षक व्यक्तित्वको साथै उच्च मनोबल समेत दिलाउछ । यस अर्थ पनि दाँतको सफाई र सुन्दरतामा हरपल ध्यान दिन जरुरी छ । तर पनि हाम्रो समाजमा अझै दाँतको समस्या प्रति आवश्यक सचेतता अप्नाएको पाइदैन् । दाँतमा देखिने समस्याले तत्काल कुनै जटिल प्रकृतिको रोग निम्ताउदैन भन्ने सोचाइले पनि दाँतको समस्यालाई सामान्य रुपमा लिइन्छ । दाँतमा के कस्ता समस्या आउछन् ? समस्या आउने कारण के के हुन् ? दाँतलाई कसरी स्वस्थ राखिरहने ? अंकुरण खबरका लागि दन्त रोग विशेषज्ञ डा.अम्बिका शाहसंग गरिएको कुराकानी…

दाँत महत्वपूर्ण अंग हो । दाँतले खानेकुरा चपाउनेदेखि सौदर्य समेत थपेको हुन्छ । यद्यपी हाम्रो समाजमा अझै पनि दन्त स्वास्थमा खासै ध्यान दिएको पाइदैन् । थोरै मात्र सचेत र सावधानी अप्नाएमा दाँतलाई सफा, सुन्दर र स्वस्थ राख्न सकिन्छ । तर बेवास्ता गर्दै गए दाँतकै कारण क्यान्सर भई ज्यान नै जान सक्छ । यस अर्थ पनि दाँतको हेरचाहामा हरवखत सचेत रहन जरुरी छ ।

दाँतमा देखिने मुख्य समस्याहरु के के हुन ?
दाँत किराले खानु ।
दाँत दुख्नु ।
दाँत सिरिङ सिरिङ हुनु ।
दाँत पहेलो हुनु ।
गिजा पाक्नु ।
बाङयो टिङ्गो दाँत आउनु आदि ।

दाँतमा समस्या हुने मूख्य कारण के हो ?
दाँतमा सबै व्यक्तिलाई एकै किसिमले समस्या आउँदैन् । तर अधिकांशमा सरसफाईको कमिकै कारण समस्या हुने र समस्याको सुरुवाती चरणमै उपचार नगर्ने वानीले थप जटिलता निम्ताउँछ ।

हामीले खाएको खानेकुरा दाँतको वरिपरि टासिन्छ, दाँत राम्रोसँग सफा गरिएन भने दिनदिनै खानेकुरा टासिँदै जान्छ । यसरी टासिएका खानेकुरामा मुखमा रहेका किटाणुका कारण एसिड बन्छ । यही एसिडले दाँत बिगार्न थाल्छ । दाँतको माथिको भागमा रहेको सेतो भागलाई इनामेल भनिन्छ। इनामेल भनेको शरीरको सबैभन्दा बलियो भाग हो। इनामेलको पछि पहेलो भाग रहेको हुन्छ जसलाई डेन्टिन भनिन्छ। डेन्टिनको मूनि पल्फ चेम्बर भन्ने तत्व हुन्छ। बिस्तारै किटाणुले असर गर्दै दाँतमा कालो देखिन थाल्छ । त्यसैलाई किरा लागेको पनि भनिन्छ । दाँत दुख्ने, खानेकुरा खाँदा कालो भागमा जम्मा भएर अडकने समस्या आउन थाल्छ । बंशाणुगत गुणका कारण पनि समस्या आउन सक्छ ।

दाँतलाई स्वस्थ र सफा राख्न के गर्ने ? 

सबै भन्दा पहिला त हामीले के बुझन जरुरी छ भने दाँत बलियो अंग भए पनि यसको आवश्यक हेरचाहा नगरे भविष्यमा ठुलो समस्या झेल्नु पर्छ । रोग लाग्नु भन्दा लाग्न नदिनु नै उत्तम हो । बच्चाको दुधे दाँतदेखिनै दाँतको सफाईमा ध्यान दिनुपर्छ । खाना खाईसकेपछि बिहान बेलुका राम्रोसंग ब्रस गर्ने, कुनै गुलियो वा दाँतमा टासिने कुरा खाए पछि ब्रस गरिहाल्ने ।

सुर्तीजन्य पदार्थ, मद्यपान लगाएतका अम्मल नखाने । जुनसुकै खानेकुरा खाए पछि मुख कुल्ला गर्ने। भिटामिन बी,सी पाइने लगाएतका सन्तुलित खाना खाने । कत्तिपयको बानी हुन्छ की खाना आएपछि सिन्का वा तोखो बस्तुले दाँत कोट्याउने । त्यसो गर्नु हुन्न । दाँत दुख्दा खैनी सुर्ती राख्ने साह्रो कुरा टोक्ने वानी हुन्छ यसले समस्यालाई अझ बढाउछ ।

के कारणले बुढेसकाल नलाग्दै दाँत झर्छ ?
गिजामा समस्या हुँदा, चुरोट,खैनी जस्ता अम्मलको बढी सेवन गर्दा, वंशाणुगत गुण आदि कारणले कत्तिपयको उमेरमै दाँत झर्छ ।

दाँतको उपचार महंगो छ भनिन्छ नी ?
दाँतको उपचारमा प्रयोग हुने गुणस्तरीय सामग्री नै महंगो छ । दाँतमा लागेको समस्याको प्रकृति अनुसार एकै दाँतको पटक पटक उपचार गर्नुपर्ने पनि हुनसक्छ । यस अर्थ अलि महंगो पर्न गएको हो । तर धेरै नै महंगो साधारण मानिसले उपचारनै गर्न नसक्ने भन्ने चै हैन् ।

दाँतमा किरा लागेको उपचार कसरी गर्ने ?
दाँतमा किरा लाग्ने भनेको एसिडमा असर गर्दै जानु हो । बिस्तरै यसले डेन्टिन हुदैं नसा भएको ठाउँसम्म हानी गर्छ । यदि डेन्टिनमा मात्र पुगेको वा नसामा असर गरेको छैन भने भर्दा मात्र हुन्छ भने नसासम्मै पुगेको अवस्थामा आरसीटी गर्नुपर्छ । नसामा पुगेको अवस्थामा दाँत सिरिङ हुने, खाँदा अप्ठ्यारो हुने, बढी दुखाई हुने हुन्छ । यस्तो अवस्थामा नसैसम्मको उपचार आरसीटी गर्नुपर्छ । यसो गर्दा विशेष सावधानीका साथ दक्ष चिकित्सककोमा गराउनु पर्छ । दाँतको समस्यालाई बेलैमा उपचार नगरे अन्य अंगमा असर गरि क्यानसर समेत हुने संभावना रहन्छ ।

दाँत सफा गर्दा हल्लिन्छ,गिँजा छोड्छ,सिरिङ हुन्छ भनिन्छ नी ?
दाँत सफा गर्दा सिरिङ सिरिङ हुन्छ त्यसैले गनुृ हुँदैन भन्नु भ्रम हो । दाँतको फोहोरले गिजा, हड्डीलाई खाएर तल गइसकेको हुन्छ । दाँतको तल्लो भागको भित्रीतहसम्म गएको हुन्छ त्यो खाली छिद्र हुन्छ । त्यो छिद्रभित्रको फोहोर निष्किएपछि सिरिङ सिरिङ हुन्छ । गिजाँ छोडेजस्तो हुन्छ । तर उपचार गरे पछि केही समय पछि निको हुन्छ ।

के दाँतमा कुनै समस्या नआउदा पनि परीक्षण गराउनु पर्छ ?
हो, यो धेरै महत्वपूर्ण कुरा हो । हाम्रो देशमा अधिकांश मानिस अझै पनि कुनै समस्या नआइकन स्वास्थ परीक्षण गराउदैनन् । त्यस माथि दाँतमा त अझ धेरै समस्या नआई परीक्षण गराउने चलननै छैन् । यो गतलत हो । दाँतमा कुनै समस्या नआउदा पनि कम्तिमा वर्षको दुई पटक परीक्षण गराउनु पर्छ ।