स्याङ्जामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।
बुधबार राति साढे ८ बजे कालीगण्डकी गाँउपालिका-६ कोटघरस्थित लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट सहचालक खसेका हुन्।
जयपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको ट्याक्टरबाट सहचालक २१ वर्षीय कुल सिंजापती खसेका थिए । खसेपछि उनको दुबै खुट्टा ट्याक्टरले किचेको थियो।
घाइते उनलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको थियो। उपचारका क्रममा उनको राति सवा १० बजे डाक्टरहरूले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनको शव सोही अस्पतालमा राखिएको छ । प्रहरीले ट्याक्टर र चालक २२ वर्षीय शिव सोमैलाई नियन्त्रणमा लिएको छ ।