काठमाडौं – म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो ।
बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले जानकारी दिए । उनले निष्पक्ष छानविनको मागसमेत गरेका छन् ।
आगलागीबाट तीनवटै जेसिभी जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । आगजनी गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।