logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही मन्त्रिमण्डल हेरफेर गर्ने निर्णयबाट पछि हटे


अंकुरण खबर
1.443K
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही आइतबार आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारीबाट पछि हटेका छन् ।

शाहीले हटाउन खोजेका मन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिन दवाब दिएपछि शाही मन्त्रिमण्डल हेरफेरवाट पछि हटेका हुन् । शाहीले पार्टी नेतृत्वको परामर्शपछि मात्रै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् ।

यसअघि शाहीले नेकपा वरिष्ठ नेता माधब नेपाल समूहसँग भएको पूर्व सहमति अनुसार आज मन्त्रिपरिषदमा हेरफेरको तयारी गरेका थिए । मन्त्रिपरिषदमा हेरफेर गर्नका लागि शाहीले नेकपा अध्यक्ष केपी ओली निकट सामाजिक मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढालाई राजीनामा दिन दवाव दिएपनि उनीहरुले राजीनामा गरेका थिएनन् ।

मन्त्रिमण्डलको विषयमा राजनीतिक सहमति जुटाउनुपर्ने देखिएपछि शाही केही दिन मन्त्रिमण्डल हेरफेर नगर्ने निस्कर्षमा पुगेका हुन । वरिष्ठ नेता माधव नेपाल पक्षले यसअघि नै तीन जना नेतालाई मन्त्री बनाउन नाम प्रस्ताव गरिसकेको छ ।

सो पक्षले मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाही मध्येबाट मन्त्री बनाउन सिफारिस गरेको छ । त्यसैगरी माओवादीबाट बिन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री बनाउने तयारी छ ।

यसअघि मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याइएपनि असफल भएको थियो । मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालविच विवाद बढेको छ ।