logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीलाई प्रचण्डको प्रस्ताव : पर्सी सचिवालय बैठक बोलाउँ


अंकुरण खबर
1.43K
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुटाएर समस्याको समधान नहुने जनाएका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले प्रधानमन्त्री ओलीसँग सहमतिको प्रयास भइरहेकोले विभाजनबाट निकास नखोज्ने बताए । उनले भने ‘पार्टीलाई क्रान्तिकारी चरित्रको बनाउनु पर्छ, यसको लागि पार्टीको बैठक नबस्नु उचित होइन। उहाँसहित बैठक छिट्टै बस्ने छ। उहाँ अहिले सहमत हुनुभएन।’

नेकपाका बहुमत सचिवालय सदस्यहरूको धुम्बाराहीमा भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमति लिएर पर्सी बिहीबार सचिवालयको औपचारिक बैठक बोलाउने प्रस्ताव गरेको छ ।

धुम्बाराहीमा बैठक बस्नुअघि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेर पर्सी बैठक बोलाउन सहमति मागेका थिए । तर, ओलीले दुई अध्यक्षबीच सहमति नभई बैठक बस्नु उपयुक्त नहुने भन्ने जवाफ दिएको प्रचण्डले धुम्बाराहीमा ब्रिफिङ गरेका छन् ।

ओली वार्ताका लागि सहमतिमा नआए के गर्ने भन्ने पत्रकारहरूको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने , ‘सहमतिका आधारमा बैठक बस्नेमा हामी आशावादी छौँ । बसेन भने के गर्ने अहिले सोच्न सक्दैनौँ ।’

त्यस्तै प्रवक्ता श्रेष्ठले नेपाल भारत सम्बन्ध सुध्रिनु राम्रो भएको बताएका छन् । उनले नेपाल भारतबीचका विवाद र तिक्तताहरु छलफलको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् ।