logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लगानी बोर्डद्वारा तीन परियोजनाका लागि ३८ अर्ब ६८ करोड लगानी स्वीकृत


अंकुरण खबर
884
Shares

लगानी बोर्डले तीनवटा परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४५ औं बैठकले यस्तो निर्णय गरेको हो।

सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत गरेको हो।

बैठकले लगानी बोर्ड कार्यालयको क्षमताको अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे पनि छलफल गरेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ ले नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेका काममा हुने विलम्बलाई हटाउन समेत नयाँ प्रविधिको आवश्यकता रहेकोमा जोड दिएका छन्।

कोभिड १९ को कारण बोर्डको बैठक नियमित बस्न असहज भए पनि आगामी दिनमा नियमित हुने प्रधानमन्त्रीको भनाइ छ। उर्जा विकासको सम्बन्धमा, विद्युत उत्पादनको साथसाथै उत्पादित विद्युत खपतको योजना समेत सम्बन्धित निकायहरूले मिलेर बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्ड मार्फत् प्रबर्घन र सहजीकरण भएका परियोजनाहरु कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका छन्।

बैठकमा अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, राष्टिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी, मन्त्रालयका सचिव, निजी क्षेत्रका प्रतिनिधीहरु भवानी राणा, हरिभक्त शर्मा, राजेशकाजी श्रेष्ठ, बालकृष्ण शिवाकोटी लगायत सहभागी थिए।