logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अन्ततः ट्रम्प प्रशासनले स्वीकार गर्‍यो बाइडेनको जित, सत्ता हस्तान्तरण शुरु गर्न तयार


अंकुरण खबर
806
Shares

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडेनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण शुरु गर्न स्वीकार गरेका छन् । उनले त्यसका निम्ति जिम्मेवार संघीय निकाय ‘जिएसए’ लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेका हुन् ।

चुनावको परिणामविरुद्ध आफ्नो कानूनी लडाइँ भने जारी रहने ट्रम्पको भनाइ छ । जिएसएले पनि बाइडेनलाई ‘स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ । जिएसएले बाइडन समूहलाई प्रक्रिया शुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गर्दै प्रक्रिया अघि बढाउन स्वीकार गरेका हुन् ।

मुख्य संघीय निकायहरुलाई ‘जे गर्न आवश्यक पर्ने हो त्यो गर्नु’ भनेर आदेश दिइसकेको ट्रम्पले ट्विटमा उल्लेख गरेका छन । यो भनाइलाई अमेरिकी सञ्चारमाध्यमले पहिलो पटक ट्रम्पले हार स्वीकार गरेको रुपमा प्रचार गरेका छन् ।

ट्रम्पद्वारा नियुक्त ‘जिएसए’की प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन् । उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको जनाएकी छन् ।

बाइडेनको समूहले पनि महामारी र राष्ट्रिय सुरक्षाका मुद्दामा सरकारी अधिकारीहरू सँगको बैठकहरूपछि सत्ता हस्तान्तरण सुरु हुने कुरा वक्तव्यमार्फत् जनाएको छ । उसले मर्फीको पत्रको स्वागत गरेको छ । डिसेम्बर १४ मा बाइडनको जित अमेरिकी इलेक्टरल कलेजबाट प्रमाणित हुँदैछ ।

बाइडेनले जनवरी २० मा शपथ लिएपछि आफूले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नाम चयन गर्न शुरु गरेका छन् । पूर्वविदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूत र एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ । एजेन्सी