logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

महोत्तरीमा बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयद्वारा आगजनी


अंकुरण खबर
754
Shares

महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयले आगजनी र तोडफोड गरेका छन् ।

बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिबास नगरपालिका–१४ स्थित घरमा स्थानीयले तोडफोड तथा आगजनी गरेका हुन् ।

स्थानीयले आगजनी गरेपछि प्रहरीले आगो निभाउने प्रयास गरिरहेको छ । बालिका हत्याको विरोधमा स्थानीयले सडक समेत बन्द गरेका कारण दमकल ल्याउन समस्या भएको छ ।

आइतबार साँझदेखि हराइरहेकी स्थानीय शहीद आलमकी ६ वर्षीया छोरी गुलावको सोमबार मध्यराति शव फेला परेको थियो ।

बर्दिवासमा किराना पसल गर्दै आएका गौशाला नगरपालिका–५ घर भएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको भन्दै हिँडेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो ।

सोमबार राति रक्सी पिएर आफ्ना घर गएका साहले परिवारका सदस्यलाई बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसपछि प्रहरीले उनलाई सोमबार राति नै पक्राउ गरेको थियो ।

साहलाई नै लिएर खोजी गर्ने क्रममा उनले भनेकै स्थानमा प्रहरीले बालिकाको शव फेला परेको थियो ।

गुलावको शव बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडि विनोद साहको खाली जमिनमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन चापागाईँले जानकारी दिए ।

डीएसपी चापागाईँका अनुसार हत्या आरोपमा पक्राउ परेका साहले आरोप स्वीकार गरिसकेका छन् ।

घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कार पछि हत्या भएको हुनसक्ने स्थानीयको भनाइ छ । तर, प्रहरीले भने शव परीक्षण रिपोर्ट आएपछि मात्रै थप कुरा खुल्ने बताएको छ ।

बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको डीएसपी चापागाईँले जानकारी दिए ।