logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हुम्लामा जिप दुर्घटना : चारको मृत्यु सात जना घाइते


अंकुरण खबर
728
Shares

कर्णाली प्रदेशको हुम्ला जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति भएको दुर्घटनामा अन्य ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

जिल्लाको हेप्काखोलाबाट बिरामी लिएर सिमकोटतर्फ फर्किँदै गरेको लु २ च २१०२ नम्बरको बोलेरो जीप सिमकोट गाउँपालिका–७ डाडाफयाको जबुका नजिकै दुर्घटनामा परेको हो । बोलेरो जीप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता इन्सपेक्टर सिताराम विष्टले शुक्रबार राति करिब १० बजेतिर जीप दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा परी १ महिलासहित ४ जनाको मृत्यु भएको विष्टले बताए ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ छन् ।

दुर्घटनामा परी १ बर्षाको बच्चासहित अन्य ७ जना घाइते भएका छन् । घाइते हुनेमा जीपका चालक सिमकोट गाउँपालिका–२ का सींगम भण्डारी, सिमकोट गाउँपालिका–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सीका कल्पना सिंह, सोही ठाउँका १ वर्षीय बालक मिलन सिंह, खोल्सीकै सम्झना शाही तथा नाम्खा गाउँपालिका १ घर भएको झुमझुम लामा र सिमकोट बस्दै आएका बाजुराका कबि सिंह रहेका छन् ।

घाइतेहरु सबै जिल्ला अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर विष्टले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।