प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ ।
कोरोना भाइरस (कोभि-१९) को नियन्त्रण, प्राप्त उपलब्धिहरुको रक्षा तथा संविधानविरोधी गतिविधिहरुको विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।
सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीका अलावा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, डा प्रकाशशरण महत, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादव, नेमकिपाका तर्फबाट प्रेम सुवाललगायत सहभागी छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकको शुरुमै प्रधानमन्त्रीले सम्बोधन गरेका छन् । बैठकको उद्देश्यबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोडिभ-१९ को नियन्त्रण तथा प्राप्त उपलब्धिहरुको सक्षाका सन्दर्भमा पनि सबै राजनीतिक दलको साथ आवश्यक रहेको बताएका छन् ।