पश्चिमी वायुको प्रभावले देशका अधिकांश भू-भागमा हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौं उपत्यकालगायतमा हुस्सु लागेको हो ।
पश्चिमी वायुको प्रभावले अझै एक/दुई दिन काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान हुस्सु लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । “मध्याह्नपछि हुस्सु क्रमशः घटेर घाम लाग्ने छ”, मानन्धरले भने ।
हाल गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भू-भागमा अपराह्न आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने बताइएको छ ।
मौसमपूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा धेरै रुपन्देही, भैरहवाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस छ ।