logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटन असंवैधानिक हो, तर आन्दोलन गरेर अदालतलाई तर्साउनु हुँदैन : सभापति देउवा


अंकुरण खबर
884
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको सन्दर्भमा सर्वोच्च अदालतको निर्णयलाई पर्खिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनावको मिति घोषणा गर्नु असंवैधानिक कदम भए पनि अब त्यसको छिनोफानो अदालतबाट हुने बताएका हुन् ।

यद्दपि संसद विघटन गरेर चुनाव घोषणा गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको देउवाले टिप्पणी गरे ।

‘ओलीजीले अहिले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गर्नुभएको छ,’ बिहीबार नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आयोजना गरेको भर्चुअल कार्यक्रममा कांग्रेस सभापति देउवाले भने, ‘हामीले यसलाई असंवैधानिक, अप्रजातान्त्रिक, अलोकतान्त्रिक कार्य हो भनेर हामीले भनेका छौं ।’

अचानक गरिएको संसद विघटनको निर्णयविरुद्ध आफ्नो पार्टीले देशभर विरोध कार्यक्रम गरिरहेको पनि देउवाले स्मरण गरे । ‘हाम्रो पार्टी देशभरि नै यसको विरुद्धमा आवाज उठाइरहेका छौं । आफ्नो निर्वाचन क्षेत्र लगायत देशभरी नै उपस्थिति बढाइरहेका छौं,’ देउवाले भने ।

नेपाली कांग्रेस लोकतान्त्रमा विश्वास गर्ने पार्टी भएकाले स्वतन्त्र न्यायपालिकाको मर्मलाई आत्मसाथ गर्नुपर्नेमा पनि देउवाले जोड दिए ।

‘हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले स्वतन्त्र न्यायपालिकामा विश्वास गर्दछ । अदालतमा विचाराधीन रहेको मुद्दामा हामीले यसो गरौं, उसो गरौं भनेर आन्दोलनको नाममा धम्क्याएयौं भने भोलि अरुले पनि आन्दोलनको नाममा अदालतलाई प्रभावित पार्ने काम गर्न सक्छन्,’ देउवाले भने ।

आन्दोलनका नाममा अदालतलाई तर्साएर गलत मान्यता स्थापित हुन नदिनेतर्फ पनि सोच्नु पर्ने देउवाको भनाइ छ ।

‘आन्दोलनबाट अदालतलाई प्रभावित पार्न खोज्दा गलत मान्यता स्थापित हुन सक्छ भनेर सोची विचार गरेर हामीले यो असंवैधानिक कदम हो, अलोकतान्त्रिक कदम पनि हो । साथसाथै हामी अदालतको निर्णय, विचाराधीन मुद्दामा यसो गर, उसो गर भनेर अदालतलाई धम्क्याएर, तर्साएर हुँदैन भनेका छौं,’ देउवाले भने, ‘अदालतको निर्णयलाई पनि पर्खिनु पर्छ भन्ने हाम्रो धारणा हो । हामी अदालतको निर्णय पर्खिरहेका छौं ।’

सभापति देउवाले पार्टीपिच्छे फरक विचार हुने गरे पनि सबैले समन्वयात्मक ढंगले अगाढि बढ्नुपर्नेमा पनि जोड दिए । ‘कुनै पनि पार्टीको फरक फरक विचार त हुन्छ । तर, हामीले यसलाई समन्वयात्मक तरिकाले लगेर प्रजातान्त्रिक तरिकाले, लोकतान्त्रिक तरिकाले, अहिंसात्मक हिसावले हामीले अगाडि बढ्नु पर्छ,’ देउवाले भने ।