नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका सन्दर्भमा अहिलेसम्म कुनै समूहमा नलागेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेका छन् ।
नेकपाको अलग्गै धारको नेतृत्व गरिरहेका प्रचण्डलाई भेट्न गौतम शुक्रबार बिहान करिब १० बजेतिर खुमलटार पुगेका हुन् ।
गत आइतबार (पुस ५ गते) प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित हुँदा गौतम तटस्थ रहँदै आएका थिए ।
पछिल्लो समय गौतमले कानूनी रुपमा समेत नेकपालाई फुटाउन नमिल्ने भन्दै पार्टी एकताका लागि लबिङ गर्दै आएका छन् ।
प्रतिनिधि सभा विघटन भइसकेपछि आज (शुक्रबार) देखि संसदको माथिल्लो सदन (राष्ट्रिय सभा)को हिउँदे अधिवेशन शुरु हुँदै छ ।
गौतम राष्ट्रिय सभा सदस्य हुन् । नेकपाको प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरिरहेको समूह समर्थित राष्ट्रिय सभा सदस्यहरुले भने बैठकमा प्रतिनिधि सभा विघटनका विरुद्धमा आवाज उठाउने जनाएका छन् ।