logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालाजुमा २३ वर्षीय युवकको हत्या, फर्पिङ्गबाट एक जना पक्राउ


अंकुरण खबर
767
Shares

काठमाडौँको बालाजु बाइपासमा स्थानीय टेलर व्यवसायी (लुगा सिउने) बिच भएको झगडामा  एकजनाको ज्यान गएको छ ।

मंगलबार राति स्थानीय दुई टेलर व्यवसायीबिच भएको विवादले उग्र रुप लिँदा अन्दाजी २३ वर्षका कलाम मियाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

राति ९ बजेतिर अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षका सुबोध शर्माले कपडा काट्ने कैँचीले मियाँको कोखामा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएको भए पनि राति साढे १० बजे निधन भएको हो ।

घटनापछि भागेका शर्मालाई प्रहरीले बुधबार बिहान फर्पिङ्गबाट पक्राउ गरेको छ । मृत्यु हुने मियाँ र आक्रमण गर्ने शर्मा दुवै भारतको मोतिहारीका बासिन्दा हुन् ।

दुईबिच ग्राहकको विषयलाई लिएर विवाद भएको बताइएको छ । उनीहरुबिच सोही विषयमा लामो समयदेखि रिसइबी थियो ।