बारामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ ।
जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो ।
भक्तलाल खोला क्षेत्रमा अवैध रुपमा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) विकास थपलियाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।
८–१० जनाको समूहमा रहेका गाँजा तस्करको टोलीले प्रहरीलाई देख्नासाथ फायर गरेको थियो । प्रहरीले समेत जवाफी फायर गरेपछि त्यहाँबाट तस्करहरु फरार भएका थिए ।
प्रहरीले घटनास्थलबाट १ सय २ किलो गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङ छन् ।
प्रहरीका अनुसार तामाङको साथबाट एकथान भरुवा बन्दुक समेत बरामद भएको छ ।
प्रहरीले पक्राउ परेका तामाङविरुद्ध हातहतियार तथा खरखजना र लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।