काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक भोला थापा नियुक्त भएका छन् ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन् । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्राडा भोला थापा र प्रा डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।
प्राध्यापक संघले भने उपकुलपति सिफारिस भएका तीनै व्यक्तिको योग्यता र मापदण्डबारे प्रश्न उठाएको थियो ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वको सर्च कमिटीले काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपतिमा तीन व्यक्तिको नाम सिफारिस गरेपछि संघले त्यसबारे प्रश्न गरेको थियो ।
सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा छन्। कमिटीले माकाजु, थापा र लुइँटेलको नाम सिफारिस गरेको सूचना बाहिरिएको थियो ।