संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाई चलिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाही गरिनुपर्ने माग गरिएको छ।
संसद विघटनविरुद्ध परेका रिट निवेदनमाथि जारी सुनुवाईअन्तर्गत सोमबारको बहसमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भन्डारीले ओलीमाथि कारबाहीको माग गरेका हुन् ।
वरिष्ठ अधिवक्ता भण्डारीले सोमबार बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीलाई लिएर संवैधानिक इजलासको ध्यानाकर्षण गराउँदै कारबाहीको माग गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध बहस गरिरहेका भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘सर्वोच्च अदालतमा बाजे वकिललाई बहस गर्न लागेर के तमासा देखाउन लगिएको हो ?’ भनेर व्यङ्ग गरेका थिए ।
सोही विषयलाई लिएर वरिष्ठ अधिवक्ता भण्डारीले सोमबार इजलासमा बहस सकिएलगत्तै उठेर इजलासको ध्यानाकर्षण गराए ।
यो उमेरको मान्छेलाई त्यसरी हेयको दृष्टिकोणले सार्वजनिक बोल्न मिल्छ रु श्रीमानहरुले यसमा कारवाही गर्नुपर्यो,’ भण्डारीको भनाइ उद्धृत गर्दै इजलासमा सँगै रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले भने । थापाले बहसका क्रममा पनि प्रधानमन्त्री ओलीले गरेको टिप्पणीको विषय उठाएका थिए ।
कानुन व्यवसायीमाथि प्रधानमन्त्री ओलीको टिप्पणीलाई लिएर आइतबार नेपाल बार एसोसियसन, बारका ४ पूर्वअध्यक्ष र डेमोक्रेटिक लयर्स एसोसिएनले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए ।