logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरुद्धको खोप अभियानको तयारी पूरा, बुधबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


अंकुरण खबर
702
Shares

बुधबारबाट शुरु हुने कोरोना भाइरसविरुद्धको खोप अभियानको तयारी पूरा भएको छ ।

पहिलो चरणमा ४ लाख ३० हजारलाई लगाइने खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

खोप केन्द्रका रूपमा कायम विभिन्न तीन सय अस्पतालमा एकैसाथ खोप अभियान शुरु हुने मन्त्रालयले जनाएको छ । पहिलो दिन ७ वटै प्रदेशमा ६२ वटा अस्पताल र १ सय २० बढी खोप केन्द्रबाट खोप अभियानको सुरुवात गर्ने सरकारको तयारी छ । उपत्यकामा भने खोप लगाउने कार्यक्रम ११ वटा अस्पतालबाट हुने छ ।

पहिलो चरणमा स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सफाइकर्मीको चार समूहले खोप पाउनेछन् ।

१४ गतेदेखि माघ २८ गतेसम्म पहिलो चरणको खोप कार्यक्रम सम्पन्न गर्ने लक्ष्य छ । त्यसका लागि आइतबार करिब पाँच लाख डोज खोप सातै प्रदेशका मुकाममा पठाइएको छ ।

खोप अभियानका लागि भर्चुअल तथा प्रत्यक्ष कार्यक्रम गरी ७७ जिल्लाका झन्डै एक हजार स्वास्थ्यकर्मीहरूलाई तालिम दिइसकिएको छ । भारतले १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप निःशुल्क उपलब्ध गराएको छ ।